पत्रकारको गोठालो यात्रा…
image

काठमाडौं । घमाइलो दिन एकाएक फाट्टफुट्ट बर्षासँगै मौसममा आएको बदलावबीच राष्ट्रिय सभागृहस्थित काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम परिसरमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीको साथमा पुगेँ ।

एफएमका स्टेशन म्यानेजर केशु नेपाल आफ्नो कार्यकक्षमा व्यस्त रहँदै गर्दा हामी दुईको उपस्थितिले नेपाललाई उत्साही मात्र बनाएन, कालो कफीको चुस्की लिने अवसर पनि सँगै जुट्यो ।  केही औपचारिक र अनौपचारिक सन्दर्भमा गफिँदै गर्दा ‘नेपाल चर्चा’की अध्यक्ष तथा सम्पादक सुशीला गौतम टुप्लुक्क आइपुग्दा हामी झनै उत्साही भयौं ।

केहीबेरमा मित्रहरु प्रितमसागर कर्माचार्य, श्यामबाबु आचार्य र टंककला तिमल्सिनाको आगमनले हाम्रो प्रतिक्षाको घडी लगभग पूरा भएको थियो । अब आज साँझका लागि तय भएको नेपाल पत्रकार मञ्चको औपचारिक कार्यक्रमको गन्तव्य स्थलतर्फको यात्रा प्रारम्भ हुँदै थियो ।

मित्र सुशीला गौतमले चलाएको सवारी साधनमा अध्यक्ष युवराज विद्रोही र मैले यात्रा गर्ने निधो हुँदा अर्का मित्र श्यामबाबु आचार्यको सवारी साधनमा प्रितमसागर कर्माचार्य र टंककला तिमिल्सिनालाई यात्रा व्यवस्थापन गरियो । अनि, काठमाडौंको कागेश्वरी मनहरा वडा नम्बर ४ स्थित थली डाँछीमा रहेको गोठालो फार्म हाउसतर्फ हाम्रो यात्रा सुरु भयो ।

हुन त आ–आफ्नो अनुकूलताको सवारी साधनमार्फत साँझसम्म गन्तव्यस्थलमा पुग्ने अग्रिम सूचना सहभागी साथीहरु समक्ष सम्प्रेषण गरिएको थियो ।  राष्ट्रिय सभागृहबाट सुरु भएको हाम्रो यात्रा पुतलीसडक हुँदै कमलपोखरी पुग्नै लाग्दा मैले अग्रज पत्रकार रामप्रसाद पौडेललाई फोन सम्पर्क गरेँ । उहाँको सवारी साधनमा अग्रज व्यक्तित्व नारायणप्रसाद आचार्य र शिरोमणि दवाडी कोटेश्वर हुँदै गौशाला नजिक पुगिसक्नु भएको जानकारी प्राप्त भए लगत्तै अर्का मित्र बसन्त शर्मालाई पनि यात्रा तय गर्न आग्रह गरेँ ।

सोही क्रममा सबैलाई थली चोकमा भेट्ने र आसपासै रहेको हाम्रो गन्तव्यस्थल जाने निधो भयो ।  धुम्म परेको आकाश, छिटफुट बर्षा र आ–आफ्नै गन्तव्यस्थलतर्फ हुँइकिएका सवारी साधनहरुको भीड छिचोल्दै हामी थली चोकमा पुग्यौं । हामी पुग्दा रामप्रसाद पौडेलसहितको टोली अगाडि बढिसकेको रहेछ । हामी भने ‘गुगल म्याप’ पछ्याउँदै अगाडि बढ्यौं । केही अन्यौलताको बीचमा अब भने हामी गोठालो फार्म हाउस पुग्यौं । कार्यक्रममा सहभागिता जनाउनका लागि यसअघि नै रामप्रसाद पौडेल, नारायणप्रसाद आचार्य, शिरोमणि  ढवाडी र मनुका कुँवर पुगिसकेका थिए ।

अपरान्ह ४ मात्र बजेको समयमा पनि आज मौसमविद्हरुले पूर्व जानकारी गराएजस्तै हामी पुगेको ठाउँमा धुम्म बादल लाग्दै गर्दा झमक्कै साँझ परेको अनुभूति भएको थियो । त्यतिञ्जेलसम्म देशका विभिन्न ठाउँमा हावाहुरी र असिनासहितको बर्षा भएका तस्वीर र भिडियोहरु सामाजिक सञ्जालमा पोस्टिन थालेका थिए । काठमाडौंकै विभिन्न स्थानमा समेत असिना पानी परेका खबरहरु सामाजिक सञ्जालबाट प्राप्त भइरहेका थिए ।

हामी भने फार्म हाउसका सञ्चालकले पाहुनालाई प्रदान गर्ने आतित्यथा ग्रहण गर्दै स्वागतीय पेय पदार्थ स्थानीय मोही खान थाल्यौं । मौसम अपेक्षाकृत नहुँदा जाडो महसुस गर्दै मोही खाँदाको अनुभूति बेग्लै थियो ।  धुम्म परेको आकाश, छिटफुट बर्षा र आ–आफ्नै गन्तव्यस्थलतर्फ हुँइकिएका सवारी साधनहरुको भीड छिचोल्दै हामी थली चोकमा पुग्यौं । हामी पुग्दा रामप्रसाद पौडेलसहितको टोली अगाडि बढिसकेको रहेछ ।

हामी भने ‘गुगल म्याप’ पछ्याउँदै अगाडि बढ्यौं । केही अन्यौलताको बीचमा अब भने हामी गोठालो फार्म हाउस पुग्यौं । शुक्रबारशीय साँझ भएर पनि होला फार्म हाउसमा बाक्लो भीड थियो । एकैपटक विभिन्न समूहमा पुगेका पाहुनालाई व्यवस्थापन गर्न फार्म हाउसका जनशक्तिलाई हम्मे–हम्मे परिरहेको थियो ।

यद्यपि, केही साह्रो–गाह्रो परिस्थितिबीच हामीलाई बस्ने व्यवस्थापन त भयो, तर मौसममा आएको गडबढीले विद्युत आपूर्ति बन्द भयो ।  उपस्थित सहभागीहरुलाई खाजा नास्ताको व्यवस्थापन हुँदैगर्दा सहभागीहरुको आउने क्रम पनि जारी नै थियो । यसैक्रममा फोटो पत्रकार घनश्याम श्रेष्ठ र केही पछि पत्रकार मित्र रविन भट्टराईको आगमनले हाम्रो उपस्थितिलाई पूर्णता प्रदान गर्नपुग्यो ।

सहभागीहरुबीच सामान्य परिचयात्मक कार्यक्रम पश्चात पुनर्ताजगी बैठकमा नेपाल पत्रकार मञ्चका सल्लाहकारका रुपमा अग्रज पत्रकार रामप्रसाद पौडेल तथा कानुनी सल्लाहकारमा अधिवक्ता सुशील शर्मा सापकोटालाई मनोनयन गरिएको घोषणा अध्यक्ष युवराज विद्रोहीले गरे ।

यही क्रममा नेपालको शैक्षिक क्षेत्रको अग्रणी संस्था ‘एम्बीसन गुरु’ले उपलब्ध गराएको नयाँ बर्ष २०८३ को बार्षिक टेबल क्यालेण्डर, कलम र डायरीसहितको ‘मायाको चिनो’ वितरण गरियो । बैठकमा अध्यक्ष युवराज विद्रोही, उपाध्यक्ष विमल थापा तथा सहभागी सुशीला गौतमले ‘एम्बीसन गुरु’ले नेपालको शैक्षिक उन्नयनमा पुर्‍याएको योगदानको चर्चा गर्दै ‘मायाको चिनो‘ उपलब्ध गराएकोमा कृतज्ञता ज्ञापन गरे ।

पुनर्ताजगी बैठकलाई औपचारिक रुपमा बिट मारेपश्चात भने रात्रीकालिन खाना खाइवरी केही सांगितिक प्रस्तुतीसहित नाचगानमा समाहित भइयो । एकातिर गीत संगीतको माहोल त अर्काेतर्फ मुक्तक, कविता र चुटकिलाले सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्न व्यस्त रामप्रसाद पौडेलको समिपमा झुम्नेहरुको उतिकै लर्काे । रात छिप्पिदै थियो, करिब ११ बजेपश्चात भने आ–आफ्नो अनुकुलतामा शयन कक्षतर्फ लाग्यौं ।

भोलिपल्ट मिर्मिरैमा फार्म हाउसमा पालिएका लोकल भालेले उज्यालो भएको संकेत दिएपछि फाट्ट–फुट्ट साथीहरु बाहिरिने क्रम सुरु भयो । अग्रज नारायणप्रसाद आचार्य, रामप्रसाद पौडेल, शिरोमणि दवाडी सहित मित्र मनुका कुँवर र म प्रभातकालिन कालो चियाको चुस्की लिँदै फार्म हाउसको अवलोकन गर्न थाल्यौं । ३१ रोपनी जमिनमा फैलिएको फार्म हाउसमा तरकारी उत्पादनदेखि कुखरा, कालिज र खसी बोकासमेत पालिएको छ । स्थानीयपनको झल्को आउने उक्त फार्म हाउसमा पुग्ने पाउनालाई स्थानीय उत्पादनबाट तयार गरिएको खानेकुरा खुवाउने लक्ष्य समेत राखिएको देखिन्छ ।

विहानको नास्ता र चिया खाएपछि हामी फेरि आ–आफ्ना गन्तव्यतर्फ फर्कियौं ।

तस्वीर : घनश्याम श्रेष्ठ